बझाङ – बझाङको मष्टा गाउँपालिका–१ ईन्द्रेश्वरीस्थित सेती नदी किनारबाट अवैधरूपमा बालुवा उत्खनन गर्दै गरेका दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सेती नदीबाट अनुमति बिना बालुवा उत्खनन गरी ढुवानी गरिरहेको अवस्थामा दुई ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।

प्रहरीले नियन्त्रणमा लिएका ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि मष्टा गाउँपालिकामा बुझाएको जनाएको छ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि प्रहरीले नियमित अनुगमन र निगरानीलाई तीव्र बनाएको जनाएको छ।
















