महेन्द्रनगर – स्वर्गीय भुवन भट्टको स्मृतिमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
स्टार क्लबको आयोजनामा आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक सुयोगले जानकारी दिएका छन्। प्रतियोगिता द रोयल फुटसलमा हुनेछ।


प्रतियोगितामा कुल ८० हजार रुपैयाँको पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ।
खेलकुदसँगै सामाजिक सेवालाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताबाट सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम अनाथालय वा वृद्धाश्रमलाई सहयोग गरिनेछ। साथै, प्रतियोगिताका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
स्वर्गीय भुवन भट्टको स्मृतिलाई जीवन्त राख्दै युवाहरूबीच मित्रता, एकता र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
















