डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबारदेखि उनीहरू सम्पर्कविहीन भएका हुन् । बेपत्ता दुवै जना आपसमा मामा–भान्जा नाता पर्ने बताइएको छ । उनीहरूको खोजी कार्य जारी रहेको र हालसम्म सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि सुरक्षा निकायले उनीहरूको खोजी कार्यलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिए । उनका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको जनाएको छ ।















