काठमाडौं – नेपाली कांग्रेसको देउवा समूहले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । काठमाडौंको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो ।
नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ ।


बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्री हुन् । कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् ।
उक्त समूहका नेता मनहरि श्रेष्ठले पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना भएको बताउँछन् ।
उनले भने, ‘यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५ औँलाई महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पर्छ । हामीले महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ ।’
उनले वैशाखदेखि नै सम्पर्क कार्यालय स्थापना गरी कामकारबाही अघि बढाइएको बताए ।



















