खाेज्नुहाेस

आफ्नो निःशुल्क क्लाउड स्टोरेजको सीमा घटाउने गुगलको सङ्केत

Image

काठमाडौँ – गुगलले आफ्नो निःशुल्क क्लाउड स्टोरेजको सीमा घटाउने सङ्केत गरेको छ । ‘एन्ड्रोइड अथोरिटी’को पछिल्लो रिपोर्ट अनुसार गुगलले अब नयाँ जिमेल अकाउन्ट खोल्ने प्रयोगकर्ताका लागि हाल दिँदै आएको १५ जीबी निःशुल्क स्टोरेजलाई घटाएर ५ जीबीमा सीमित गर्ने परीक्षण गरिरहेको हो ।

रिपोर्टका अनुसार यदि नयाँ प्रयोगकर्ताले ५ जीबीभन्दा बढी स्टोरेज प्रयोग गर्न चाहेमा आफ्नो फोन नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ । फोन नम्बर उपलब्ध गराएपछि मात्र थप स्टोरेज क्षमता ‘अनलक’ हुने व्यवस्था गर्न लागिएको हो ।

attariya hospital
navjiwan hospital

यस विषयमा गुगलका एक प्रतिनिधिले एन्ड्रोइड अथोरिटीसँग परीक्षणको पुष्टि गर्दै भनेका छन्, “हामी केही निश्चित क्षेत्रहरूमा नयाँ स्टोरेज नीतिको परीक्षण गरिरहेका छौँ । यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई उच्च गुणस्तरको सेवा प्रदान गर्नुका साथै उनीहरूको खाताको सुरक्षा र डेटा रिकभरीलाई थप बलियो बनाउनु हो ।”

विश्लेषकका अनुसार फोन नम्बर अनिवार्य गर्दा एउटै व्यक्तिले धेरै खाता खोलेर स्टोरेज सुविधाको दुरुपयोग गर्ने कार्य रोकिन्छ । साथै यसले प्रयोगकर्ताको खातालाई थप सुरक्षित बनाउन मद्दत गर्छ । यद्यपि धेरैले यसलाई गुगलले प्रयोगकर्तालाई ‘गुगल वन’को सशुल्क प्लान लिन प्रोत्साहन गर्ने रणनीतिको रूपमा पनि हेरेका छन् ।

पुराना तर फोन नम्बर भेरिफाई नभएका अकाउन्टको हकमा के हुन्छ भन्ने जानकारी औपचारिक रूपमा बाहिर आएको छैन । हाल यो परीक्षण कुन-कुन देशमा भइरहेको छ भन्ने स्पष्ट छैन । एन्ड्रोइड अथोरिटीका अनुसार हाल ५ जीबी मात्रै स्टोरेज पाइने यस्ता अकाउन्ट मुख्यतया अफ्रिकी देशमा देखिएका छन् । सन् २००४ मा जिमेल सुरु हुँदा गुगलले १ जीबी स्टोरेज दिएर ईमेल प्रयोगको तरिका नै परिवर्तन गरिदिएको थियो । सन् २०१३ सम्म आइपुग्दा यो क्षमता बढेर १५ जीबी पुगेको थियो ।

विगतमा प्रयोगकर्तालाई आकर्षित गर्न निःशुल्क स्टोरेज बढाउँदै लगेको गुगलले अहिले भने आफ्नो बिजनेस मोडेल परिवर्तन गरिरहेको छ । विशेषगरी एआईको क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको समयमा गुगलले आफ्ना सेवामा जेमिनाई एआईका फिचर समावेश गरी सशुल्क प्याकेज विस्तार गरिरहेको छ । हालै मात्र कम्पनीले एआई फिचरसहितको नयाँ टियर सार्वजनिक गरेको छ, जसमा प्रति महिना ८ डलर तिरेर २०० जीबीसम्म स्टोरेज पाउन सकिन्छ ।