अत्तरिया– कैलालीको अत्तरिया बजारमा रहेको मासु पसलहरुको अनुगमन सकिएको छ । गोदावरी नगरपालिकाले शुक्रबार देखी थालेको अनुगमन शनिबार सकिएको हो । नगरउपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा सञ्चालित अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी, वडा नं. २ का वडासदस्य डबल बहादुर साउँद, पशु सेवा शाखा प्रमुख राम बहादुर सार्की, पशु चिकित्सक डा. निलम कुमारी महतो लगायतको सहभागिता रहेको थियो ।

अनुगमन पश्चात बोल्दै पशु चिकित्सक डा. निलम कुमारी महतोले दुई दिन सम्म गरिएको अनुगमनका क्रममा अत्तरिया बजारका मासु पसलहरुमध्ये धेरै जसो व्यवसायीहरुले फोहोर किसिमले मासु राखेको भेटिएको बताईन । उनले फ्रिजमा मासु सँगै अन्य खानेकुराहरु पनि खुल्ला रुपमा राखेको भेटिएको बताईन । उनले त्यसरी राख्नु स्वास्थ्यका लागि एकदमै हानिकारक हुने बताईन । ‘यहाँका धेरै पसलहरुमा फ्रिजमा मासु सँगै अन्य खानेकुराहरु पनि खुल्ला रुपमा राखेको भेटियो’ उनले भनिन् ‘त्यसरी राख्दा मासुमा भएको संक्रमण अन्य खानेकुरामा पनि सर्ने भएकाले त्यसरी राख्नै हुदैन ।’ उनले फ्रिजमा मासु राख्दा पनि छोपेर मात्रै राख्न मिल्ने बताईन । त्यसबाहेक अनुगमनका क्रममा कुहिएको र बिग्रिएको मासुहरु कुकुर, बंगुर लगायतका जनावरहरुलाई खुवाउने गरी राखेको समेत भेटिएको बताईन । उनले जनावरहरुलाई पनि कुहिएको र बिग्रिएको मासु दिन नमिल्ने बताईन । उनले बजारको अवस्था हेर्दा अनुगमन मासिक रुपमा गर्न जरुरी देखिएको समेत बताईन ।

प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले नगरपालिकाले चरण चरणमा विभिन्न पसलहरुमा अनुगमन गर्दै आईरहेको बताए । उनले केही दिन अघि खाद्यका पसलहरु अनुगमन गरिएकोमा शुक्रबार र शनिबार दुई दिन मासु पसलहरुको अनुगमन गरिएको बताए । उनले अनुगमनका क्रममा केही पसलहरु सफा देखिएपनि केही पसलहरु भने एकदमै फोहोर देखिएको बताए । उनले पसलहरु दर्ता नै नभएको समेत भेटिएको बताए । ‘अधिकांश पसलहरुले दर्ता गरेको भएपनि केही पसलहरु दर्ता बिना नै सञ्चालन गरिरहेको भेटियो’ उनले भने ‘त्यस्ता व्यवसायीहरुलाई दर्ता प्रकृयामा ल्याएर मासु पसल पनि सफा राख्ने र मासु पसललाई व्यवस्थीत बनाउन अनुरोध ग¥यौँ ।’ उनले नगरपालिकाले पनि व्यवसायीहरुसँग अन्तरक्रिया गर्न आवश्यक रहेको महसुस भएको बताए । उनले आगामी आर्थिक वर्षमा मासु व्यवसायीहरुसँग अन्तरक्रिया गरेर अझै कसरी मासु पसलहरुलाई व्यवस्थीत गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको बताए ।
शुक्रबार र शनिबार दुई दिन करिब ४० पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मासु पसलहरुको सरसफाई, मासु काट्ने सामग्री र स्थानको अवस्था, मासु राख्ने तरिका तथा पसल दर्ता र नविकरण लगायतका विषयवस्तुहरु हेरिनुका साथै मासुलाई फ्रिज भित्र कसरी राख्ने, मासु काट्दा के गर्ने, मासु सँग केही अन्य सामान राख्ने कि नराख्ने भन्ने विषयमा व्यवसायीहरुलाई जानकारी दिईएको थियो । अनुगमन गरिएका मासु पसलहरुबाट खान योग्य नभएको करिब २० किलो मासु बरामद गरि नष्ट गरिएको थियो ।


















