धनगढी– कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा आयोजक श्री युवा जनहित क्लबलाई पराजित गर्दै नेम्स क्लबले उपाधी हात पा-यो ।

कैलारी गाउँपालिका – ८ लोहलपुरको खेल मैदानमा भएको फाईनलमा नेम्सले श्री युवा जनहित क्लबलाई २–० ले हराएको हो । प्रतियोगिताको विजेता बनेको नेम्सले एक लाख रुपैयाँ र उपविजेता बनेको आयोजक श्री जनहित क्लबले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यही बैशाख १७ गतेदेखी सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीका अध्यक्ष तिर्थ पन्त रहेका थिए भने बिशिष्ठ अतिथिमा कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरी रहेकी थिईन् ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेको छ ।
साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवद्र्धनमा सहयोग गरेका थिए ।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएका थिए ।


















