अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र प्रभावकारी पूर्वतयारीका लागि ‘सेवा निरन्तरता योजना तथा भूकम्प र आगलागीजन्य विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास’ आयोजना गरिएको छ।
नगर कार्यपालिकाको कार्यालय, अत्तरियाको आयोजनामा भएको उक्त कार्यक्रममा विपद्को समयमा जनधनको क्षति कम गर्ने र सरकारी सेवालाई निरन्तरता दिने उपायहरूको प्रयोगात्मक अभ्यास गरिएको थियो।


बढ्दो सहरीकरणसँगै अत्तरिया क्षेत्रमा भूकम्प र आगलागी जस्ता विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा यो अभ्यास निकै महत्त्वपूर्ण मानिएको छ। अभ्यासका क्रममा भूकम्प जाँदा सुरक्षित रहने तरिका, आगलागी नियन्त्रण गर्ने विधि र घाइतेहरूको प्राथमिक उपचार तथा उद्धारका प्रक्रियाहरू देखाइएको थियो।
विशेष गरी, ठुलो विपद्का बेला पनि नगरपालिकाले प्रदान गर्ने आधारभूत सेवाहरू (BCP – Business Continuity Plan) कसरी सुचारु राख्ने भन्ने विषयमा कर्मचारी र सरोकारवालाहरूलाई तालिम दिइएको छ।
कार्यक्रम ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER-II)’ अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रमलाई विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संघसंस्थाहरूले प्राविधिक तथा आर्थिक सहयोग पुर्याएका छन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले विपद् पूर्वतयारीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताईन । “विपद् जतिखेर पनि आउन सक्छ, त्यसैले हामीले आफ्ना संयन्त्रहरूलाई सधैं तयारी अवस्थामा राख्नुपर्छ,” उनले भनिन, “यस्ता कृत्रिम अभ्यासले सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वयलाई अझ बलियो बनाउँछ।”

















