धनगढी – तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका जगतबहादुर पार्कीविरुद्ध बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
कैलाली जिल्ला अदालतले उनीविरुद्ध वारेन्ट जारी गरे पनि चार महिनादेखि उनी प्रहरीको सम्पर्कबाहिर रहेका छन् ।


डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी घर भएका पार्कीविरुद्ध धनगढी–३ का नरेशबहादुर थापाले गत चैत २ गते मुद्दा दायर गरेका थिए । मुद्दा नम्बर ०८२–सि १–०७६९ रहेको उक्त प्रकरणमा अदालतले चैत १७ गते नै पक्राउ पुर्जी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै मुद्दा अदालतमा बुझाइसकिएको जानकारी दिए । ‘पुर्जी जारी भए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन्,’ डीएसपी तिमिल्सिनाले भने ।
पार्कीविरुद्ध कैलालीमा मात्र नभई काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको बुझिएको छ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। केही दिनअघि प्रहरी वृत्त बानेश्वरको टोली उनलाई पक्राउ गर्न बानेश्वरस्थित निवासमै पुगेको थियो । तर, उनी घरमा फेला नपरेपछि रित्तै फर्किएको थियो ।
प्रहरीका अनुसार यो मुद्दा बैंकिङ्ग कसुरसँग सम्बन्धित भएकाले पीडितको रकम फिर्ता गरेको खण्डमा मिलापत्र हुने सम्भावना रहन्छ ।


















