खाेज्नुहाेस

कैलालीमा औलो र कालाजार नियन्त्रण गर्न विषादी छिट्काउ अभियान तीव्र

Image

धनगढी – कैलालीमा औलो र कालाजारको जोखिम नियन्त्रण गर्न विषादी छिट्काउ अभियानलाई तीव्रता दिइएको छ । स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहहरूसँगको सहकार्यमा जिल्लाभर अभियान सञ्चालन गर्दै आएको हो । विशेषगरी तराईका बस्तीहरूमा संक्रमण देखिएकाले केस भेटिएका बस्ती तथा आसपासका क्षेत्रमा लक्षित रूपमा विषादी छिट्काउने काम सम्पन्न गरिएको छ ।

navjiwan hospital

अभियान अन्तर्गत हालसम्म जिल्लाभर ४ हजार ६ सय ९० घरमा विषादी छिट्काइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अभियानबाट ९ हजार १ सय ६ जना स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा १३३ जनामा औलो पुष्टि भएको छ । अघिल्लो आर्थिक वर्षमा २ सय ३१ जना तथा आर्थिक वर्ष २०८०/८१ मा १ सय ३५ जनामा संक्रमण देखिएको थियो। यसले जिल्लामा औलोको जोखिम निरन्तर रहँदै आएको देखाउँछ ।

attariya hospital

कालाजारतर्फ सन् २०२४ मा ११ जना, २०२५ मा ७ जना र २०२६ मा हालसम्म १ जना बिरामी फेला परेका छन्। बिरामीको संख्या घट्दो क्रममा देखिए पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको अवस्था छ । हरेक वर्ष औलो र कालाजारका बिरामी देखिँदै आएकाले नियन्त्रणका लागि अभियानलाई प्राथमिकतामा राखिएको हो । स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार दुई पहाडी स्थानीय तह बाहेक अन्य ११ स्थानीय तहका प्रभावित क्षेत्रमा विषादी छिट्काउने काम सम्पन्न गरिएको छ। ‘अभियान अन्तर्गत बिरामी भेटिएका घर तथा वरपरका क्षेत्रहरूमा प्राथमिकताका साथ विषादी छिट्काउने गरिएको छ,’ उनले भने, ‘यसले संक्रमण फैलिन नदिन महत्वपूर्ण भूमिका खेलेको छ ।’