कञ्चनपुर – कञ्चनपुरका केही युवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नै भएको दाबी गर्दै ‘गो ब्याक इन्डिया’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सोमबार जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित मदनचोकमा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

युवा सामाजिक अभियन्ता सुजित श्रेष्ठले पछिल्ला दिनहरूमा भारतीय पक्षबाट दार्चुलास्थित नेपाली भूमिमा हस्तक्षेप भएको आरोप लगाउँदै त्यसको विरोधमा प्रदर्शन गरिएको बताए ।

‘हाम्रो भूमि, हाम्रो अधिकार’ र ‘सीमा रक्षा हाम्रो अभियान’जस्ता नारासहित प्रदर्शन गरिएको थियो । भारतीय हस्तक्षेप नरोकिएसम्म निरन्तर प्रदर्शन जारी राखिने उनीहरूले घोषणा गरेका छन् ।

















