कैलाली– नेपालका सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले अब राज्यको स्रोत दोहन गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । कैलालीको जानकी गाउँपालिकामा शुक्रबार भएको सरोकारवालासँगको भेटघाट तथा छलफलमा मन्त्री चौधरीले नेपालको कृषि र वन क्षेत्रमा धेरै भ्रष्टाचार भइरहेकोले अब त्यसको अन्त्य गरिने बताए ।

मन्त्री चौधरीले नेपालको कृषि र वन मन्त्रालय अन्तर्गतका धेरै कानुनहरु समय सापेक्ष नभएकाले समस्या आइरहेको बताउँदै त्यसलाई अहिलेको सरकार समय सापेक्ष बनाउँदै सुशासन कायम गर्ने पक्षमा रहेको बताए । छलफल कार्यक्रममा सहभागी किसानहरुले यस क्षेत्रमा किसानहरुले समयमै मल, बीउको सुविधा नपाएको, बिचौलियाहरूले किसानहरूलाई ठगिरहेको, किसानको उत्पादनले बजार नपाएको, कृषि उपज खरिदका लागि समयमै सरकारी काटा नलागेको लगाएतका गुनासाहरू किसानहरुले मन्त्री समक्ष राखेका थिए ।

किसानहरूका जिज्ञासा तथा गुनासाको जवाफ दिँदै मन्त्री चौधरीले वर्गीकरण अनुसार सङ्घीय सरकारले मल तथा बीउको व्यवस्था गर्ने भएकाले स्थानीय सरकारलाई जग्गाको वर्गीकरणमा सघाउन आग्रह गरे । छलफलमा सहभागी प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले यस क्षेत्रका अधिकांश मानिसहरू कृषि पेसामा रहेकाले सरकारले किसानको सहजताका लागि मल बीउदेखि उत्पादन गरिएको कृषि उपजको बजारीकरणको सुनिश्चितता गर्नुपर्ने बताए ।
भेटघाट तथा छलफल कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी लगायत किसानहरूको सहभागिता रहेको थियो ।

















