खाेज्नुहाेस

बुढीतोलामा पर्यटन महोत्सव : ऐतिहासिक महत्त्व उजागर गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

Image
  • पिपिपि मोडेलमा आधारित भएर काम गर्न सके बुढीतोलालाई छिट्टै पर्यटकीय हब बनाउन सकिन्छ : नगरप्रमुख भट्ट
  • बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना : महोत्सव मूल आयोजक समितिका संयोजक भट्टराई

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ४ बुढीतोलामा पर्यटन महोत्सव सुरु भएको छ । बिहीबार बाट बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा बुढीतोलामा पर्यटन महोत्सव सुरु भएको हो । महोत्सवको एक भव्य समारोहका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरे ।

attariya hospital

उद्घाटन पश्चात् बोल्दै उनले बुढीतोला सौन्दर्यताले भरिपूर्ण ठाउँ भएको बताए । उनले कैलालीको पवित्र एवम् धार्मिक स्थलका रूपमा पनि बुढीतोलालाई लिन सकिने बताए । ‘बुढितोला सौन्दर्यले भरिपुर्ण क्षेत्र हो, यो पवित्र धार्मिक स्थल पनि हो’ उनले भने ‘सुदूरपश्चिमकै ठुलो धार्मिक क्षेत्र गोदावरी धाममा यहाँकै पानी बगेर गएको हुन्छ । त्यो धाममा हामी पितृ कर्म पनि गछौँ, दाहसंस्कार पनि गछौँ धार्मिक कार्य पनि गछौँ । यहीको पानीले त्यो नदी पनि पवित्र भएको हो ।’

navjiwan hospital

उनले वातावरणीय रूपमा मात्रै नभई धार्मिक रूपमा पनि बुढितोलाको महत्त्व बढी भएकाले त्यसको विकासका लागि सबै क्षेत्र अग्रसर हुन जरुरी रहेको बताए । महोत्सव आयोजकले बुढीतोलालाई अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउनका लागि महोत्सवको आयोजना गरेको देखेर आफू हर्षित भएको बताउँदै उनले स्थानीय सरकारले पनि आफूले सक्दो सहयोग गर्न तयार रहेको बताए । नगरप्रमुख भट्टले गोदावरी धाम र बुढीतोलालाई एक आपसमा व्यवस्थापन गर्न सके आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरू पनि भित्र्याउन सकिने बताए । उनले गोदावरीको पर्यापर्टनका लागि आफूहरू लागिरहेको समेत बताए ।

‘गोदावरी धाममा ५४ करोडको डिपिआर बनेको छ । त्यसलाई व्यवस्थित गर्न सक्यौ, बजेटको पाटोमा काम गर्न सक्यौ भने बर्सेनि करोडौँ पर्यटकलाई भित्र्याउन सकिन्छ’ उनले भने ‘गोदावरी देखी बुढीतोलालाई हिलस्टेशनको रूपमा विकास गरेर जाने उद्देश्यका साथ अहिले ९० लाखको काम भएको छ । पर्यापर्यटनमा अझै पनि ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसका लागि हामी लागिरहेका छौ ।’ नगरप्रमुख भट्टले बुढीतोलालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने धेरै सम्भावनाहरू रहेको उल्लेख गरे । उनले पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपि) मोडेलमा आधारित भएर काम गर्न सके बुढीतोलालाई छिटै पर्यटकीय हब बनाउने सकिने र त्यसका लागि स्थानीय सरकार पनि तयार रहेको स्पष्ट पारे ।

महोत्सवमा ६० वटा स्टलहरू राखिएका छन् । सुदूरपश्चिमका विभिन्न स्थानीय परिकारहरू समेत महोत्सवको मुख्य आकर्षकका रूपमा रहने आयोजकले जनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक हरिदत्त भट्टराईले बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गरिएको बताए । उनले बुढीतोलाको ऐतिहासिक महत्त्व उजागर गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा लगानी भित्र्याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए । उनले पर्यटकहरूका लागि एकदमै उपयुक्त वातावरण रहेको बुढीतोलामा आन्तरिक एवम् बाह्य पर्यटकहरूलाई आकर्षित गर्न र उनीहरूलाई बुढीतोला क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी दिन महोत्सवले मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । महोत्सवले बुढीतोला क्षेत्रका स्थानीय उत्पादनहरूको प्रचार प्रसार र ब्राण्डिङ गर्नमा मद्दत गर्ने बताए ।

उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरू एलिना चौहान, पुस्कल शर्मा, कमल विरही थापा, चक्र बम, रमेश राज भट्ट, टंक तिमल्सीना, ज्योति मगर, लाल बहादुर धामी लगायतका कलाकारहरूका साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेनछ । उनले महोत्सवमा रमाइलो मेलाहरूका साथै बुढीतोला क्षेत्रका स्थानीयहरूको स्वास्थ्य अवस्था चेकजाँच गर्नका लागि नेपालीसेनासँगको सहकार्यमा स्वास्थ्य शिविर पनि रहने बताए । महोत्सवको समुद्घाटन अघि प्रभात फेरी को आयोजना गरिएको थियो । जसमा सुदूरपश्चिमका मौलिक हुड्केली नाच, नौमती बाजाहरू बजाइनुका साथै गौरा समेत निकालिएको थियो । महोत्सवमा सामान्य टिकट दर १ सय र विद्यार्थीलाई ५० तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।