खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश प्रहरीको दावी ‘सुदूरपश्चिममा आपराधिक समूह सक्रिय छैन’

Image

धनगढी– सुदूरपश्चिममा विगतमा जस्तो अपराधिक समुह सक्रिय नरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दावी गरेको छ । सर्वसाधारणले विगतको तुलनामा अपराधिक क्रियाकलाप बढेको बताउदै आएपनि प्रहरीले भने कुनै पनि अपराधिक समुह सक्रिय नरहेको दावि गरेको हो ।

navjiwan hospital

प्रहरीले भने जस्तो सुदूरपश्चिममा अपराधी समूह निष्क्रिय भने छैन । स्रोतका अनुसार अहिले किशोरहरूका समेत गाउँ गाउँ ग्याङ छन् । प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा त जेलभित्र अपराधीहरू राज गर्छन् । कैलालीमा मुख्य गरी चारवटा अपराधी समूहको चर्चा हुने गर्छ । नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ । यी समूहले जेल भित्रसमेत राज गरेका थिए । अहिले भने कैलाली कारागारमा यस्ता अपराधी सङ्गठनहरूबिच कुनै पनि सम्पर्क नहोस् भनेर जेल सरुवा लगायतका काममा कडाइ गरेको छ । पहिला कैलालीको दक्षिणी पूर्वी क्षेत्र अपराधीको हब जस्तै बनेको थियो । अहिले केहि समय यता त्यहाँ अपराधी घटना हत्या हिंसाका घटना डर लाग्दा घटेका छैनन् । प्रहरीका आफूहरू अपराधी समूह सक्रिय हुन नदिन विशेष रणनीति अपनाइएको बताउँछ ।

attariya hospital

प्रदेशका पहाडी जिल्लाहरूमा राजनीतिक आडमा र गाउँले रिसिइबिका कारण पनि साना–साना ग्याङहरू सक्रिय छन् । कतिपय अवस्थामा विप्लव नेतृत्वको नेकपा बहुमत र वैज्ञानिक समाजवादी पार्टीका कार्यकर्ताका नाममा पनि धम्क्याउने र चन्दा असुल्ने काम भइरहेको स्रोतको दाबी छ । जनस्तरमा त्रास रहे पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्ट भने अपराधीहरूलाई टाउको उठाउन नदिने दाबी गर्छन् । ‘अहिले त्यस्तो सक्रिय रूपमा कोही पनि छैनन् । हामीले उनीहरूलाई सक्रिय हुन दिएका छैनौँ र दिने पनि छैनौँ’ उनले भने । एसएसपी विष्टका अनुसार अहिले प्रहरीलाई काम गर्न विगतको तुलनामा निकै सजिलो छ ।

‘अहिले नयाँ सरकारको पालामा प्रहरीलाई कुनै राजनीतिक दबाब छैन । कुनै नेताले अपराधी छुटाउन फोन गर्दैनन् । हामीलाई ‘स्वतन्त्र भएर काम गर्नुहोस्’ भनिएको छ ।अपराधीहरूभन्दा प्रहरी कयौँ गुणा बढी शक्तिशाली छ, त्यसैले कसैलाई छोडिने छैन’, उनले भने । प्रहरीले अहिलेको अवस्थालाई शान्त रहेको बताए पनि भुइँतहमा अपराधीहरूको सञ्जाल र जेलभित्रैबाट चल्ने आदेशले सर्वसाधारणमा भने संशय कायम छ । दाबी गरेझैँ नयाँ अभ्यास र स्वतन्त्र कार्यशैलीले यी सङ्गठित अपराधीहरूलाई पूर्ण रूपमा निर्मूल पार्ने प्रहरीको योजना छ ।