धनगढी – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ ।

१६ वैशाख साँझ ५ : ४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७ : ४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले आज अपराह्न जारी गरेको सूचनामा उल्लेख छ।

विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ
साथै मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने प्रणाली पनि पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ । त्यसले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

















