धनगढी – कैलाली–५ का प्रतिनिधिसभा सदस्य डा. आनन्द चन्दले ‘सुदूरपश्चिम इन्क्युबेसन तथा स्टार्टअप’ अवधारणा सार्वजनिक गरेका छन् । उक्त अवधारणा उद्योग वाणिज्य संघ, कैलालीसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो ।
‘हब एन्ड स्पोक’ मोडेलमा आधारित यस अवधारणा अन्तर्गत सुदूरपश्चिमका ८८ वटा पालिका, प्रदेश सरकार, ९४ वटा कलेज तथा उद्योग वाणिज्य संघ कैलालीबीच सहकार्य रहनेछ ।
कार्यक्रममा बोल्दै डा. चन्दले भने, ‘२ हजार स्टार्टअप सृजना गरेर २० हजार जनालाई रोजगारी दिने लक्ष्यका साथ हामीले यो प्रस्ताव अघि सारेका छौं ।’ उनले उद्योग वाणिज्य संघ कैलाली र अध्यक्ष पुष्करराज ओझाले देखाएको सहयोगप्रति आभार पनि व्यक्त गरे ।


उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझाले अन्तरक्रिया अर्थपूर्ण रहेको बताए । उनले भने, ‘हामीले यस किसिमको पहल सुरु गरिसकेका थियौं । आज प्रतिनिधिसभा सदस्यले त्यसलाई सुदूरपश्चिमव्यापी बनाउने मोडेलसहित छलफलमा ल्याउनु भएको छ । सरकार र निजी क्षेत्र मिलेर यसलाई सफल बनाउन सहज हुने देखिन्छ ।’
उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले कैलाली–५ ले सही नेतृत्व पाएको टिप्पणी गरे । उनले भने, ‘उद्यमशीलतालाई बुझ्ने जनप्रतिनिधि पाएको महसुस भएको छ । उहाँको अवधारणासँग सहकार्य गर्दै अघि बढ्न सकिन्छ ।’
कैलाली मल्टिपल क्याम्पसका उद्यमशीलता विकास कार्यक्रम प्रमुख डा. राजेन्द्रवीर चन्दले विगतमा सरकार र निजी क्षेत्रबीच समन्वय प्रयास सफल नभएको बताए । उनले भने, ‘स्टार्टअप बिना रोजगारी सिर्जना गर्न सकिँदैन । यूजीसीबाट २ करोड रुपैयाँ प्राप्त भएको थियो । प्रस्ताव आह्वान गर्दा ८५ वटा आइडिया आएका थिए । तीमध्ये २७ वटा स्टार्टअपलाई २ देखि ५ लाख रुपैयाँसम्म अनुदान दिएर सञ्चालनमा ल्याइएको छ ।’
स्विस कन्ट्र्याक्टका उद्धव सुवेदीले उक्त अवधारणा सकारात्मक रहेको बताए । त्यस्तै, वेल्ट हंगर हिल्फका मिल अफिसर निरज गिरीले आफ्नो संस्था पनि यस क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै सहकार्यको सम्भावना खोज्ने बताए ।

















