डडेल्धुरा – विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले ज्ञानोदय विद्या निकेतनमा तीन दिने छुकछुके रोबोट निर्माण कार्यशाला सुरु भएको छ। वैशाख १३ गतेदेखि वैशाख १५ गतेसम्म सञ्चालन हुने उक्त कार्यशालाको आयोजना ज्ञानोदय विद्या निकेतनले गरेको हो भने सहजीकरण गोदावरी आविष्कार केन्द्रले गरिरहेको छ।

माध्यमिक तहका २० जना विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यशालामा विद्यार्थीहरूले कम्प्युटरमा डिजिटल डिजाइन, यान्त्रिक संरचना निर्माण, इलेकट्रोनिक जडान तथा सञ्चालनसहित आफैँले चुकचुके रोबोट तयार गर्ने अवसर प्राप्त गरेका छन्। कार्यशालाको पहिलो दिन Onshape सफ्टवेयरमार्फत रोबोटका पार्टपुर्जा डिजाइन गर्ने, दोस्रो दिन मेकानिकल असेंबली गर्ने तथा तेस्रो दिन इलेकट्रोनिक जडानसहित छुकछुके रोबोट फुटबल प्रतियोगिता आयोजना गरिनेछ।
विद्यालयका प्राचार्य कृष्ण ओझाले छुकछुके रोबोट कार्यशाला त्यही व्यवहारिक र सिर्जनात्मक शिक्षाको एउटा महत्त्वपूर्ण सुरुवात भएको बताए ।

उनले यस्ता परियोजनामूलक कार्यशालाले विद्यार्थीहरूमा प्रविधिप्रतिको आत्मविश्वास, अनुसन्धान क्षमता तथा परिवर्तनशील सोचको विकास हुने विश्वास व्यक्त गरे ।
सहजीकरण संस्था गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक किरण भट्ट र शेखर साउदका अनुसार कार्यशालामार्फत विद्यार्थीहरूलाई कम्प्युटर एडेड डिजाइन, मेकानिकल जडान, इलेक्ट्रोनिक्स, समस्या समाधान तथा टोलीगत कार्यको वास्तविक अनुभव प्रदान गरिनेछ। ग्रामीण क्षेत्रका विद्यालयमा समेत आधुनिक रोबोटिक्स सिकाइ पुर्याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यशालाको अन्तिम दिन विद्यार्थीहरूले निर्माण गरेका छुकछुके रोबोटहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिनेछ, जसले सिकाइलाई अझ रमाइलो, प्रतिस्पर्धात्मक र उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको छ।

















