अत्तरिया– कैलालीको अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाका १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका कार्यवाहक अध्यक्ष शेर बहादुर बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन ।
साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसअन्तरगत संस्थाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिईएको थियो । वार्षिक प्रगती प्रतिवेदन अनुसार संस्थाले हालसम्म खानेपानीको गुणस्तर कायम राख्न प्रेशर फिल्टर मेसिन जडान गरेको, कार्यालय भित्र २ कोठे शौचालय निर्माण गरेको, गोदावरी आर्यघाटमा फोहोर व्यवस्थापनका लागि २ थान फोहोर डिस्पोजल च्याम्बर जडान गरेको, खानेपानी आयोजनाका भित्रि सडकहरुमा विभिन्न साइजका ५ किलोमिटर पाईप लाईन जडान गरिएको लगायत रहेका छन ।


त्यस्तै बिलिङ र स्टोरका लागि ट्रस्ट भवन निर्माण गरेको, पलम्बर, सहायक पलम्बर र हेल्परहरुलाई ई–साईकल वितरण गरेको तथा खानेपानीको अभावलाई न्यूनिकरण गर्नका लागि झण्डै ६३ करोड लागत डिजाइन इस्टिमेट गरी डिपिआर तयार गरी प्रदेश तथा संघ सरकारमा पेश गरेको संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले जानकारी दिए । उनका अनुसार संस्थाले वि.सं. २०९० सम्ममा संस्थाको कार्यक्षेत्र तथा आयोजना क्षेत्रभित्र रहेका सबै घरहरुमा खानेपानीको धारा जडान गर्ने लक्ष्य लिएको छ । त्यसबाहेक खानेपानी आयोजनाको डिजिटल ले–आउट सहितको नक्सा तयार गर्ने, खानेपानीको मुहानहरुमा डिजिटल फ्लो मिटरहरु जडान गर्ने लगायतका योजनाहरु रहेको उनले बताए ।
गोदावरी नगरपालिका वडा नं. १, २ र ४ आयोजना क्षेत्र रहेको सो खानेपानी संस्थामा हाल ५ हजार ७४२ जना उपभोक्ताहरु रहेका छन । संस्थाले ५ वटा डिपबोरिङहरुबाट पानी उत्पादन गर्दै आईरहेको छ । जलबाट दैनिक ५० लाख ४० हजार लिटर पानी उत्पादन भैरहेको कार्यालय प्रमुख पनेरुले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा २४ करोड २७ लाख ९९ हजार ९९४ रुपैया बराबरको कारोबार गरेको छ । जसबाट संस्थाले कर तिरेर २४ लाख ९५ हजार २३७ रुपैया बचत गर्न सफल भएको छ ।
साधारण सभा सम्पन्न भएसँगै संस्थाको ८औ अधिवेशन सुरु भएको छ । सो अधिवेशनले खानेपानी संस्थाको लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि यही वैशाख २६ गते निर्वाचन हुने भएको छ । संस्थाले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाताहरुको अन्तिम नामावली शुक्रबार सार्वजनिक भैसकेको छ भने यही वैशाख १४ गते सोमबार उम्मेदवारी दर्ता हुनेछ ।
















