धनगढी – कैलालीमा प्रहरीले स्वीप अपरेशन चलाएको छ । ९ गतेदेखि थालिएको स्वीप अपरेसन अन्तर्गत तीन दिनको अवधिमा १६९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूमध्ये ९३ जनालाई सोधपुछ पछि छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अन्य पक्राउ परेकाहरू विभिन्न कसुरका आरोपित छन् ।

प्रहरीका अनुसार ३९ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिइएको छ भने, लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न २३ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, नाइट्राजेपाम १७७ ट्याब्लेट, ट्रामाडोल २०० पिस र १७ ग्राम गाँजा बरामद गरिएको छ ।

त्यसैगरी, फरार प्रतिवादी १० जनालाई पक्राउ गरिएको छ भने चोरीमा संलग्न ४ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साथै, सोधपुछका लागि १३ जनालाई नियन्त्रणमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउन यस्ता अपरेशनलाई निरन्तरता दिइने डीएसपी तिमिल्सिनाले बताए ।

















