धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले सेवाग्राहीलाई लक्षित गर्दै सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पु¥याउने अभियान सुरु गरेको छ । संघीय सरकारको नीतिअनुसार राहदानी, नागरिकता तथा राष्ट्रिय परिचयपत्रजस्ता सेवा हुलाकमार्फत सेवाग्राहीकै घरमा पठाउने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्दै सोमबार मात्रै करिब २०० सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको जानकारी दिए । उनका अनुसार अब सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै जानेछ । ‘कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पु¥याउने लक्ष्यका साथ काम अघि बढाएका छौं,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार हाललाई राहदानी हुलाकमार्फत घरमै पठाउने व्यवस्था लागू गरिएको छ भने आगामी दिनमा अन्य सेवा समेत विस्तार गर्दै घरदैलोमै पु¥याउने तयारी भइरहेको छ ।
यस व्यवस्थाले सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ । विशेषगरी टाढा–टाढाबाट सेवा लिन आउने नागरिकलाई यसले उल्लेख्य राहत पुग्ने अपेक्षा गरिएको छ ।


















