काठमाडौँ – राष्ट्रिय जेनजी नागरिक अभियानले नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । सो सङ्गठनले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगम घेर्ने चेतावनी दिएको हो ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगभ घेराउ गर्ने चेतावनी दिए । ‘जनतालाई पुरानाहरूको जन्जालबाट मुक्त गर्छु भन्ने नयाँहरूले जनतालाई महँगीको भारले थिच्ने, दुई तिहाइको उपहारले यही हो’ सिंहले प्रश्न गरे । ‘यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौँ’ सिंहले चेतावनी दिए ।

सह संयोजक अजय सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २ सय १९ हुनु लाजमर्दो विषय हो’ सोडारीले भने ।
५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले भने– ‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् ।’ दुई तिहाइको सरकारले जनतालाई न्याय देलान् भन्ने अपेक्षाकाबीच पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने, ‘पेट्रोलको प्रतिलिटर १५७ बाट २१९ गाएको छ, डिजेल/मट्टीतेलमा १४२ बाट २३७ पुगाएर सरकारले आफ्नो शक्ति देखाइदियो ।’
















