खाेज्नुहाेस

खुटिया सिँचाइ योजना पुनःस्थापना गर्न धनगढी उपमहानगरपालिकाको माग

Image

धनगढी – धनगढी उप–महानगरपालिकाले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको ऐतिहासिक खुटिया सिँचाइ योजना पुनः सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष औपचारिक रूपमा माग तथा सिफारिस गरेको छ ।

उप–महानगरपालिकाले मन्त्रालयलाई पठाएको पत्रमा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका लगायतका क्षेत्र समेटिएको खुटिया सिँचाइ योजना लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको उल्लेख गरिएको छ ।

attariya hospital
navjiwan hospital

योजनाअन्तर्गत निर्माण गरिएका नहर, हेडवक्र्स तथा अन्य संरचनाहरू हाल प्रयोगविहीन बन्दै गएको र कतिपय स्थानमा जीर्ण समेत भएको जनाइएको छ । पत्रमा विगतमा ठूलो लगानीमा निर्माण गरिएको सिँचाइ प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नरहेकाले कृषिमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ । भूमिगत जलस्रोतमा कमी आउँदै गएको, खेतबारीमा पानीको अभाव देखिएको र किसानहरू सिँचाइ समस्याबाट प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै योजना पुनःस्थापनाको आवश्यकता औंल्याइएको छ ।

धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल द्वारा हस्ताक्षरित पत्रमा खुटिया सिँचाइ योजनाका संरचनाहरूको मर्मत, सुधार तथा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न मन्त्रालयसँग आग्रह गरिएको छ । उप–महानगरपालिकाले योजना पुनः सञ्चालनमा आएमा कृषि उत्पादन वृद्धि, पानी व्यवस्थापनमा सुधार र समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।