खाेज्नुहाेस

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न कैलालीका निर्माण व्यवसायीकाे माग

Image

धनगढी – कैलालीका निर्माण व्यवसायीले निर्माण उद्योगमा आपत्काल घोषणा गरी अविलम्ब व्यवसायीलाई राहत दिन नेपाल सरकारसँग माग गरेका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले आपत्काल घोषणा गरी राहत दिन माग गरेका हुन् । सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार दुई दिन बिदा दिए जस्तै इन्धनको कारण उत्पन्न असहज परिस्थितिमा निर्माण उद्योगमा पनि बिदा लागु गर्न उनीहरूको माग छ ।

अहिलेको अवस्थाले निर्माण उद्योग ठप्प हुने अवस्था रहेकाले आपत्काल घोषणा गरी व्यवसायीलाई अविलम्ब राहत दिनुपर्ने निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष टेकबहादुर मल्लले बताए । सङ्घद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मटितेललगायतका इन्धन र बिटमिन सामग्रीमा भइरहेको पटक पटक अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा परेको बताए ।

attariya hospital
navjiwan hospital

“हामीलाई थाहा छ, इन्धनको मूल्यवृद्धि हाम्रो मुलुकको मात्रै नभई विश्वव्यापी समस्या हो,” अध्यक्ष मल्लले भने “तर, राज्य हाम्रो अभिभावक हो । अप्ठ्यारो परेको अवस्थामा हाम्रो आवाज राज्यले नसुने कसले सुनिदिने ।”

निर्माण कार्यको मूल्य समायोजन नेपाल राष्ट्र बैङ्कको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भए तापनि राष्ट्र बैङ्कको इन्डेक्समा उक्त सामग्रीको मूल्य घटेकोे देखाइने प्रचलनका कारण थप सङ्कट निम्तिएको जनाइएको छ ।

आयोजनामा मूल्यवृद्धि भए अनुरूप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भएकाले मूल्य समायोजनको मार्ग निर्देशन–२ तत्काल जारी गर्न सङ्घले माग गरेको छ ।