कञ्चनपुर – कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया थालसेमिया’ ट्रेट पहिचान भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। एक सातासम्म सञ्चालन भएको शिविरमा दुई हजार ६४७ जनाको रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए ।

उनका अनुसार एक हजार ७५७ महिला र ८९० पुरुषको रगत परीक्षण गरिएकामा १४८ महिला र ७५ पुरुष गरी २२३ जनामा ट्रेट (वाहक) देखिएको छ। पोजेटिभ देखिएकाहरूको थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएको उनले बताए ।

नेपालका थारू चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन् भयावह हुन सक्ने भएकाले कञ्चनपुरका थारू चौधरीहरू समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भट्टले बताए ।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखा पर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्छन्।
















