अत्तरिया– कैलालीको अत्तरियामा अन्तर–पालिका स्तरीय स्रोत साझेदारी संयन्त्र गठन गरिएको छ । युरोपेली आयोग मानविय सहायता विभाग (ECHO) को आर्थिक सहयोग तथा युएनडीपी, युएन ओमन, युनीसेफ, हेन्डीक्याप ईन्टरनेसनलको सहयोग तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित सुपर दोश्रो चरण परियोजनाको सहकार्यमा गोदावरी नगरपालिकाले आयोजना गरेको एकदिने पालिका स्तरीय कार्यशालाबाट सो संयन्त्र गठन गरिएको हो ।
कार्यशालामा कैलाली र कञ्चनपुरका ५ वटा स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक, विपद् व्यवस्थापन शाखाका फोकल व्यक्तिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । उक्त कार्यशालाले गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको संयोजकत्वमा संयन्त्र गठन गरेको हो ।


विपद् जोखिम न्यूनिकरण गर्न र आपतकालिन प्रतिकार्यलाई प्रभावकारी बनाउन नजिक रहेका स्थानिय तहहरुको एक आपसमा समन्वय र सहकार्य हुन आवश्यक रहेको नगरप्रमुख भट्टले बताए । उनले सो संयन्त्रबाट दिगो रुपमा सबै पालिकाहरुमा विपद् जोखिमको न्यूनिकरणका लागि सहयोग पुग्ने बताए । उनले विपद्को समयमा एक पालिकाले अर्काे पालिकालाई आवश्यक सहयोग र सहकार्य गर्ने योजना अनुरुप नै अन्तरपालिका स्तरिय संयन्त्र गठन भएको बताए ।
नगरप्रमुख भट्टको अध्यक्षतामा आयोजित कार्यशालामा स्थानीय तहहरूबीच स्रोत साझेदारीको आवश्यकता, यसको व्यवहारिक कार्यान्वयनका उपाय तथा विपद् व्यवस्थापनमा देखिएका चुनौती र अवसरबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले आफ्ना अनुभव, सिकाइ र असल अभ्यासहरू प्रस्तुत गर्दै सहकार्यको दायरा विस्तार गर्नेमा जोड दिएका थिए ।
समितिमा पाँच वटै पालिकाका प्रमुख सदस्य रहनेछन् भने विपद् व्यवस्थापनमा सक्रियता, छलफल र आगामी कार्ययोजना निर्माण गर्न प्रत्येक २, २ महिनामा बैठक बस्ने र श्रोत साझेदारीका अभ्यासहरु साटासाट गर्ने बिषयमा छलफल गरीएको छ ।
कार्यशालाले स्थानीय तहहरूबीच समन्वय, सूचना आदान–प्रदान र सहकार्यलाई थप मजबुत बनाउने, साझा कार्ययोजना निर्माण गर्ने तथा अन्तर–पालिका सञ्जाल स्थापना गर्ने निष्कर्ष निकालेको छ । यसले भविष्यमा विपद् पूर्वतयारी र प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको कुरा साझेदार संस्था रुडुकका कार्यकरी निर्देशक अमर साउँदले जानकारी दिए । कार्यक्रमले स्थानीय तहहरूबीच सहकार्यको वातावरण सिर्जना गर्दै दीगो र समन्वित विपद् व्यवस्थापन प्रणाली विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनले विस्वास व्यक्त गरे ।
















