धनगढी – नवजीवन सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष दिनेश कुमार कोइरालाको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, कोटिहवामा बसोबास गर्दै आएका कोइरालाको उपचारका क्रममा चैत २२ गते आइतबार ९० वर्षको उमेरमा निधन भएको हो ।

कोइरालाले २०५० साल जेठ २८ गतेदेखि २०५१ साल असोज १ गतेसम्म नवजीवन सहकारीको अध्यक्षका रूपमा कार्यभार सम्हालेका थिए । सहकारीको प्रारम्भिक चरणमै उनले नेतृत्व गर्दै संस्थाको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनको नेतृत्वमा सहकारीले संगठनात्मक संरचना मजबुत बनाउँदै सदस्य विस्तार र सेवा प्रवाहलाई व्यवस्थित गर्न थालेको थियो ।

उनको निधनप्रति नवजीवन सहकारी संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ । सहकारीका वर्तमान अध्यक्ष देवबहादुर बमले शोक वक्तव्य जारी गर्दै स्वर्गीय कोइरालाले सहकारी स्थापना र विकासमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् ।
उनको निधनले सहकारी क्षेत्रसँगै समग्र समुदायलाई अपूरणीय क्षति पुगेको सहकारीकर्मीहरूले बताएका छन् । स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहकारीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।














