अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ । अत्तरियामा रहेको थ्रिडिभिएल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले विद्यालयलाई खाद्यान्न सहयोग गरेको हो ।

“उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मुल नाराका साथ शुक्रबार परेको ६९औ सहकारी दिवसको अवसरमा विद्यालयलाई खाद्यान्न सहयोग गरिएको सहकारीका अध्यक्ष दिपक ओझाले जानकारी दिए । उनले फरक क्षमता भएका विद्यार्थीहरुको सम्मान स्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।

उनले सुप समावेशी विद्यालयलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको पनि बताए । उनले विश्व प्रविधिमैत्री भैरहेका बेला फरक क्षमता भएका बालबालिकाहरुले कुर्चिमै बसेर पनि आयआर्जन गर्न सक्ने अवस्था सृजना गर्न आवश्यक रहेको र त्यसका लागि थ्रिडिभिएल ले योजना बनाईरहेको बताए ।
त्यसअघि सहकारीले ओलानीका क्यान्सर पिडित हेमन्त बडैलाको परिवारलाई पनि सहयोग गरेको थियो । आर्थिक अवस्था कमजोर भएका बडैलाको परिवारलाई सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत केही खाद्यान्न र आर्थिक सहयोग गरेको अध्यक्ष ओझाले बताए ।

















