अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मावि र काठमाण्डौमा रहेको लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) बिच शैक्षिक समझदारी भएको छ । बिहिबार दुवै विद्यालयहरु बिच शैक्षिक समझदारी भएको हो ।
सो समझदारी पत्रमा दुर्गालक्ष्मी नमुना माविका तर्फबाट विद्यालयका अध्यक्ष हरिदत्त भट्टराई र एलआरआई की चेयरपर्सन यास्रिका पन्तले हस्ताक्षर गरेका छन ।



दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष भट्टराईले दुई विद्यालयहरुबिच शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलाप र असल अभ्यास आदान प्रदान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको बताए । उनले एलआरआई सँगको सहकार्यले दुर्गालक्ष्मीका विद्यार्थीहरुलाई शैक्षिक गुणस्तरमा सहयोग हुने विश्वास व्यक्त गरे ।
त्यसबाहेक एलआरआई स्कुलले दुर्गालक्ष्मीलाई बस समेत सहयोग गरेको छ । एलआरआईले उपहार स्वरुप दुर्गालक्ष्मीलाई बस प्रदान गरेको अध्यक्ष भट्टराईले बताए । सो बसले टाढा बाट विद्यालय आउने विद्यार्थीहरुलाई सहजता प्रदान गर्ने उनले बताए ।

















