काठमाडौं – हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडानको भाडान भारी वृद्धि भएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो सँगै काठमाडौं–धनगढी रुटको न्युनतम भाडा १४ हजार ४ सय ५७ र अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल सर्चाज) मात्र बढेको हो । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो ।

तर, नेपाल आयल निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १ सय २५ बाट बढाएर २ सय ५१ रुपैयाँ पु¥याएको थियो ।
यससँगै धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । जसका कारण धनगढीको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।

भाडादरमा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप हुन्छ ।
वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडादर कार्यान्वयनमा आइसकेको छ । वायुसेवा कम्पनीका अनुसार बढेको डलरको मूल्य र इन्धन मूल्यका कारण हवाई सेवा व्यवस्थापन निकै चुनौतिपूर्ण अवस्थामा पुगेको बताएका छन् ।





















