अत्तरिया – अछाममा पर्ने रामारोशन पर्यटन क्षेत्र सुदूरपश्चिमको एक प्रमुख पर्यटकीय गन्तव्य हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्र खुला घाँसे मैदान र तालले चर्चित छ । जसका कारण यसको सुन्दरता नियाल्न जो कोही रामारोशन पुग्न चाहन्छन् । तर, यहाँ पुग्न भने त्यति सहज छैन । कारण हो, निर्माण सुरु गरेर अलपत्र पारिएको सडक ।
रामारोशन क्षेत्र पुग्न अत्तरिया देखि साँफेबगर २४५ किलोमिटर पक्की सडक रहेको छ भने साँफेबगर देखि जयगढ सम्म १५ किलोमिटर सडक पनि कालोपत्रे छ । जयगढ सम्म सहज रूपमा यात्रा गर्न सकिने भए पनि जयगढ देखि रामारोशन क्षेत्र सम्म पुग्ने ३८ किलोमिटर ८४० मिटर सडक भने कालोपत्रेका लागि ६ वर्ष अघि नै ठेक्का भए पनि अलपत्र छ ।

उक्त सडक कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय अछामले तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ, तर हाल सम्म एउटा ठेकेदारले पनि कालोपत्रेको काम सुरु गरेका छैनन् ।
सडकको पहिलो खण्ड जयगढ–माझेठाना–गौता खोला सम्म १२ किलोमिटर ४३८ मिटर सडकको कालोपत्रेको लागि बज्र गुरु कन्स्ट्रक्सन कम्पनी काठमाण्डौं सँग ठेक्का गरिएको छ । उक्त कम्पनी सँग २०७६ कार्तिक ९ गते सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । २४ करोड ७७ लाख ९० हजार ३६९ रुपैयाँ लागतमा निर्माण गर्ने गरी गरिएको सम्झौता अनुसार उक्त सडक २०७९ असार १७ गते सम्पन्न गर्नुपर्ने थियो । तर, त्यसपछि २ पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि हाल तेस्रो पटक म्याद थपिएको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । सडक निर्माणका लागि पहिलो पटक थप १ वर्ष दोस्रो पटक डेढ वर्ष र तेस्रो पटक पनि डेढ वर्ष म्याद थप गरी निर्माण अवधि २०८३ असार २५ गते सम्म कायम गरिएको छ । उक्त सडकको वित्तीय प्रगति ७७ प्रतिशत र सोही हाराहारीमा भौतिक प्रगति रहेको छ । सडकको लागत भने बढेर हाल ३० करोड ७३ लाख ७२ हजार १४५ रुपैयाँ पुगेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
सडकको दोस्रो खण्ड गौता खेला देखि मुजा बजार सम्म ५ किलोमिटर २५० मिटर सडक कालोपत्रेका लागि २०७६ कार्तिक ५ गते नै अनक जयदेवी जेभी नेपालगन्ज सँग ठेक्का सम्झौता गरिएको थियो । २०७८ असार १७ गते सम्पन्न गर्नु पर्ने गरी सुरुमा १३ करोड ७९ लाख २६ हजार ७३३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर उक्त सडक पनि सुरुमा म्यादमा सम्पन्न नहुँदा हाल तेस्रो पटक म्याद थप गरेर काम भइरहेको छ । उक्त सडक निर्माणका लागि पहिलो पटक ९ महिना, दोस्रो पटक १ वर्ष र तेस्रो पटक ३ वर्ष ३ महिना म्याद थपिएको छ । उक्त म्याद अनुसार सडक निर्माणको काम २०८३ असार २० गते सकिनुपर्ने भए पनि हालसम्म आधा काम पनि भएको छैन ।

पूर्वाधार विकास कार्यालय अछामले सडक निर्माणका लागि ४१.३३ प्रतिशत अर्थात् ६ करोड ९७ लाख ६५ हजार ५५० रुपैयाँ भुक्तानी भएको जनाएको छ । दोस्रो भेरियसन पछि सडकको लागत पनि बढेर हाल १६ करोड ८७ लाख ८५ हजार ६४१ रुपैयाँ पुगेको छ ।
तेस्रो खण्डको मुजाबगर देखि रामारोशन सम्म २१ किलोमिटर १५२ मिटर सडक कालोपत्रेका लागि पीएस बानिया जेभी हेटौडा सँग २०७७ असार २९ गते सम्झौता गरिएको थियो । सुरुको सम्झौता अनुसार २०८० असार १६ गते सडक निर्माणको काम सक्नुपर्ने भए पनि उक्त सडक खण्डको पनि २ पटक म्याद थप गरिसकिएको छ ।
सुरुमा १९ महिना र दोस्रो पटक २७ महिना म्याद थप गरी सडक निर्माणको समय २०८४ असार ३० गते सम्म तोकिएको छ । उक्त सडकको निर्माणका लागि सुरुमा ४८ करोड ३९ लाख ६७ हजार ३८२ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हाल भेरियशन पछि लागत बढेर ५७ करोड ४२ लाख ८३ हजार २३९ रुपैयाँ पुगेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । कार्यालयका अनुसार हाल सडकको वित्तीय प्रगति ४९.३९ प्रतिशत रहेको छ । जसअनुसार २८ करोड ३६ लाख ५३ हजार ५४९ रुपैयाँ भुक्तानी गरिएको छ ।
हाल सडकको पहिलो खण्डमा कालोपत्रेका लागि गिट्टी बिछाउने काम गरिएको भए पनि अन्य दुई खण्डमा भने सडकको अवस्था नाजुक छ । सडक सुख्खा मौसममा धुलाम्मे र बर्सादमा हिलाम्मे हुनुका साथै सडकमा ठुला ठुला खाल्डा र ढुङ्गा हुँदा यात्रा गर्न निकै कठिन र जोखिमपूर्ण रहेको छ । जसले गर्दा जयगढ बजार देखि रामारोशन गाउँपालिका ७ मा पर्ने रामारोशन क्षेत्रमा पुग्न ३८ किलोमिटर ८४० मिटर सडकको यात्रा निकै कष्टकर हुने गरेको छ ।
भिडियो


















