धनगढी– धनगढीमा चुरे संरक्षणबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वनकर्मी र संरक्षणकर्मीले चुरेको अवस्था दिनहुँ कमजोर हुँदै गएको बताएका हुन् ।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला र कर्णाली प्रदेशबाट आएका प्रतिनिधिहरूको सहभागिता थियो । सहभागीहरूले चुरे संरक्षण मानवविहीन होइन, मानवसहित हुनुपर्नेमा जोड दिए । उनीहरूले वन्यजन्तुको मात्रै होइन, स्थानीय बासिन्दाको सुरक्षालाई पनि बराबरी प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले चुरे र वन संरक्षणसम्बन्धी कानुनी व्यवस्था बारे जानकारी दिएका थिए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सामुदायिक वनले संरक्षणमा पु¥याएको योगदानको प्रशंसा गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रमकी अध्यक्ष झुमाकुमारी चौधरीले वन कार्यालयसँग सहकार्य गरेर संरक्षणका कार्यक्रम अघि बढाइने बताइन् र सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

















