काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको गौशालामा राखिएका सयौँ गाईको अवस्था दयनीय बनेको छ । पर्याप्त खाना र व्यवस्थापनको अभावमा धेरै गाईहरू दुब्लो, कमजोर र बिरामी भएका छन । जसले गर्दा गाईहरूको दैनिक मृत्यु समेत भइरहेको स्थानीयले बताएका छन् । केहि दिन अघि गौशालाको अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयमा चासो बढेको हो । गौशालामा राखिएका गाईहरू अत्यन्त दुब्लो देखिने, खानाको अभाव हुने र उचित व्यवस्थापन नदेखिएको भन्दै स्थानीय तथा पशु अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
बर्दगोरिया गाउँपालिकाका पशु शाखा प्रमुख जयप्रकाश कोइरालाका अनुसार गौशालामा रहेका गाईहरूको हेरचाह मुख्य रूपमा चराइमा निर्भर रहेको छ । गौशाला जंगल नजिकै भएकाले गोठालाहरूले बिहान गाईहरूलाई जंगलमा चराउन लैजाने र साँझ फर्काउने व्यवस्था छ । अहिले हिउँदको समय भएकाले जंगलमा घाँस कम हुने र चिसोका कारण गाईहरू केही कमजोर देखिएको हुन सक्ने कोइरालाले बताए ।

‘गौशाला जंगल नजिकै छ । गोठालाहरूले बिहान चराउन लैजान्छन्’ उनले भने, ‘हिउँदको समयमा घाँस कम पाइने भएकाले गाईहरू केही दुब्ला देखिएका हुन सक्छन् ।’ कोइरालाले गौशालामा ठूलो संख्यामा गाई भएकाले उपलब्ध बजेटले सबै व्यवस्थापन गर्न कठिन भइरहेको बताए । त्यसको व्यवस्थापनका लागि बजेट थप गर्ने भन्ने विषयमा हाल कुनै छलफल नभएको उनले जानकारी दिए ।

गौशाला सञ्चालक समितिका अध्यक्ष देव चौधरीका अनुसार हाल गौशालामा करिब २१५ वटा गाई छन् । गौशालामा ६ जना कर्मचारी राखिएको छ । तीमध्ये चार जना कर्मचारीले गाईहरूलाई जंगलमा चराउन लैजाने काम गर्छन् भने दुई जनाले गोठ सफा गर्ने र अन्य व्यवस्थापनको काम गर्छन् । गाउँपालिकाले गौशालाका लागि वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएको भए पनि उक्त रकम कर्मचारीको तलबमै धेरै खर्च हुन्छ ।
यसो हुँदा खानापानीको व्यवस्थापन गर्न कठिन भइरहेको चौधरीले बताए । उनका अनुसार विशेष गरी हिउँदको मौसममा घाँस कम हुने भएकाले गाईका लागि पराल र भुसको आवश्यकता बढ्ने तर बजेट अभावले नियमित व्यवस्था गर्न कठिन भइरहेको छ । गौशालाको भौतिक संरचना पनि निकै कमजोर अवस्थामा रहेको पाइएको छ । गोठका छाना पुराना र जीर्ण भएका कारण पानी पर्दा पानी चुहिने समस्या देखिएको गौशाला सञ्चालक समितिले जनाएको छ । छानोबाट पानी चुहिँदा गाईहरूलाई बस्न असहज हुने र गोठ भित्रको वातावरण पनि चिसो तथा फोहोर हुने गरेको गुनासो छ ।
गौशाला सञ्चालक समितिका अध्यक्ष चौधरीका अनुसार यस समस्याबारे गाउँपालिकालाई जानकारी गराइसकिएको छ । गाउँपालिकाबाट इन्जिनियरलाई बोलाएर गोठको संरचना निरीक्षण गराइएको र मर्मतका लागि आवश्यक लागतको प्रारम्भिक मापन पनि गरिएको उनले बताए । उनका अनुसार छानो मर्मत तथा संरचना सुधार गर्न बजेट आवश्यक भए पनि हाल उपलब्ध स्रोत सीमित भएकाले काम अघि बढाउन कठिन भइरहेको छ । भौतिक संरचना कमजोर हुँदा गाईहरूको स्वास्थ्यमा समेत असर पर्ने जोखिम देखिएको छ ।
गौशाला व्यवस्थापन समितिले प्रदेश सरकारसँग पनि सहयोग मागेको थियो । ट्र्याक्टर–ट्रली र भुस काट्ने मेसिन उपलब्ध गराइदिन माग गरिए पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको चौधरीले सुनाए ।



















