खाेज्नुहाेस

एसपिए कैलाली प्राइड लिगको सेमिफाइनल समिकरण पुरा

Image

धनगढी – धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न निर्णायक खेलमा आलिताल गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै धनगढी उपमहानगरपालिका अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो । यसअघि नै बाजुराको बुढीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

navjiwan hospital

मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आलिताल गाउँपालिकाले १९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो। आलितालका लागि समीर बिस्टले सर्वाधिक २४, कप्तान दिल बोहराले १४ र राजु रिजालले १२ रन जोडे। आलितालको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा धनगढीका सन्नी बीकले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै प्रकाश जंग कार्की र विशाल क्षेत्रीले समान २–२ विकेट झारे ।
८३ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी उपमहानगरपालिकाले १२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गयो । धनगढीको जितमा रोहन बीकेले २२ रन बनाए भने सन्नी बीकले ब्याटिङमा पनि चम्किँदै ८ बलमा २ छक्कासहित अविजित १९ रनको विष्फोटक पारी खेले । शंकर बोहरा १३ रनमा अविजित रहे । आलितालका निराजन ऐर, दिल बोहरा र समीर बिस्टले १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

attariya hospital

सोमबार सम्पन्न खेलहरूमा टीकापुर नगरपालिकालाई पराजित गर्दै पुनर्वास ’बी’ सेमिफाइनलमा पुगेको थियो । पुनर्वासले दिएको १६७ रनको लक्ष्य पछ्याएको टीकापुर ५४ रनमै समेटिएको थियो । सोमबार नै भएको अर्को खेलमा आलितालले बरदगोरियालाई हराएर सेमिफाइनलको आशा जीवित राखे पनि मंगलबार धनगढीसँग पराजित भएसँगै आलिताल प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसअघि नै घोडाघोडी र बुढीगंगा पनि सेमिफाइनल पुगेका थिए । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा जारी यस प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता चैत ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।