खाेज्नुहाेस

कञ्चनपुरका विद्यालयमा ‘विद्यालय आँखा जाँच’ कार्यक्रम सञ्चालन

Image

कञ्चनपुर– कञ्चनपुरमा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा जिल्लाका विद्यालयहरुमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको बताईएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको आयोजकले जनाएको छ । कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत्ता लगाउने र आवश्यक उपचारको व्यवस्था मिलाइने गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीले बताए । उनका अनुसार विद्यार्थीमा देखिने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्न विद्यालयमै पुगेर आँखा परीक्षण गर्ने अभियान सञ्चालन गरिएको हो ।

attariya hospital
navjiwan hospital

एक अध्ययनले विद्यालयमा अध्ययनरत करिब ३.५ प्रतिशत विद्यार्थीमा दृष्टि दोष हुने देखाएको छ । यस्तो समस्या समयमै पत्ता नलागेमा बालबालिकाको अध्ययनमा ध्यान केन्द्रित गर्ने क्षमता र समग्र शैक्षिक उपलब्धिमा असर पर्ने सम्भावना रहने वरिष्ठ नेत्र अधिकृत धामीले बताए । विद्यालयमा पढ्ने बालबालिकाले आफ्ना समस्या सहज रूपमा अभिव्यक्त गर्न नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने उनको भनाइ छ ।

हालसम्म दोधरा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका तीनवटा विद्यालयमा आँखा जाँच कार्यक्रम सम्पन्न भइसकेको छ । ती विद्यालयका १ हजार १५५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा ६५ विद्यार्थीमा दृष्टि समस्या देखिएपछि निःशुल्क चश्मा वितरण गरिएको छ भने २७ जना विद्यार्थीलाई थप उपचारका लागि गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा रेफर गरिएको वरिष्ठ नेत्र अधिकृत धामीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत एक सय ५० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गर्ने लक्ष्य राखिएको छ । यससँगै आवश्यक पर्ने विद्यार्थीलाई औषधि वितरण तथा उपचार सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ ।