अत्तरिया – कैलालीको अत्तरियामा प्रदेश सरकारको लगानीमा बनेको संरचना सहित निजी टहरामा वनले डोजर चलाएको छ । शनिबार गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी सामुदायिक वनमा निर्माण गरेका संरचनामा डिभिजन वन कार्यालयले डोजर चलाएको हो ।
जसअन्तर्गत जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग संरक्षण मञ्चको निर्माणाधीन भवन र स्थानीय २ जनाले निर्माण गरेका घर र अन्य कच्ची संरचना रहेको सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले बताए ।

उनले स्थानीय र सम्बन्धित वनका पदाधिकारीले दिएको सूचनाका आधारमा अतिक्रमण हटाइएको बताए । सूचना पाइए अनुसारका सबै संरचना भत्काइएको बताउँदै उनले आफू नयाँ भएकाले अतिक्रमणको बारेमा विस्तृत जानकारी नभएको बताए । ‘साना टिन लगाएका २ घर र एउटा पुरानो पिल्लर हालिएको घर भत्काएका हौ’ उनले भने ‘म यहाँ नयाँ मान्छे हो । मलाई त्यहाँको बारेमा थाहा थिएन । उपभोक्ताहरूले जुन जुन नयाँ हो भन्नु भयो ती ती भवन हटाइएको हो ।’


सो क्रममा आर्थिक वर्ष २०७६/०७७ मै निर्माण सुरु गरिएको जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग संरक्षण मञ्चको संरचना पनि भत्काइएको थियो । पिल्लर मात्रै ठड्याइएको उक्त भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिएको थियो ।
मञ्चका सचिव नर दीप धामीले भवन निर्माणका लागि ३० लाख बजेट प्रदेश सरकारबाट विनियोजन भए पनि विवाद भएपछि १० मात्रै खर्च गर्न पाइएको बताए । उनले भत्काएको बारेमा अनविज्ञता प्रकट गर्दै उनले जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्गता भएकाहरूको लागि सम्पर्क, शिविर र पुनः स्थापना केन्द्र राख्ने योजना रहेको बताए ।
उनले आफूहरूले अतिक्रमण नगरेर सामुदायिक वनको सहमतिमा निर्माण सुरु गरिएको बताए । भवन निर्माणका क्रममा सहसचिव रहेका उनले राज्यकै लगानी राज्यले नै भत्काएकोमा आफूहरूले केही गर्न सक्ने अवस्था नरहेको बताए ।
अत्तरिया बजार क्षेत्र सँगै जोडिएको दुर्गालक्ष्मी सामुदायिक वन विभिन्न नाममा विगत लामो समय देखि अतिक्रमण हुँदै आएको छ । वनमा अतिक्रमण गरेर नै दर्जनौँ संघसस्थाका कार्यालय निर्माण गरिएका छन ।



















