खाेज्नुहाेस

आमाको रोधन : म मर्नु अघि छोरो मरिदियोस्

Image

अत्तरिया – ‘आमा’ जो आफू हारेर आफ्ना सन्तानलाई जिताउँछिन् । ‘आमा’ जो आफ्नो अन्तिम श्वास रहुन्जेल छोराछोरीको दीर्घायुको कामना गर्छिन् । सबैभन्दा बढी करुणा र माया बोक्ने ‘आमा’ जो आफू मरेपछि पनि आफ्नो सन्तानले दुःख नपाओस् भनी चिताउँछिन् । यस्तै आमा पाएका छन् कैलालीको गोदावरी – ८ का गोपाल दमाइले । ३ वर्ष अघि आँखाको ज्योति गुमाएका उनी अहिले आफ्नी ७३ वर्षीय आमा नमनीको सहारामा बाचिरहेका छन् ।

आँखाको ज्योति गुमेपछि ५० वर्षीय गोपाललाई आमाले नै बाहिर भित्र डोह-याउने देखि लिएर लालन पालन गरिरहेकी छिन । तर, जीवनको उत्तरार्धमा पुगेकी उनकी आमालाई भने आफू मरेपछि छोरोको के हालत हुने हो भन्ने चिन्ताले सताइरहेको छ ।

attariya hospital

आर्थिक अभावले छोराको आँखाको ज्योति फर्काउने सपना अधुरो रहेको बिलौना गर्दै उनी भन्छिन् ‘म जिउँदो छदा त यो खान पाउने हो म मरेपछि के गर्ने हो ? म मनुअघि यसले मरिदिए हुन्थ्यो, …।’  उनलाई आफू मरेपछि छोरोले दुःख पाउने चिन्ताले सताइरहेको छ । दम रोगले पीडित जमनीले आफ्नो वृद्ध भत्ताको पैसाले अहिले घर खर्च चलाइरहेको बताइन् ।

लेबरीको काम गरेर जिविको चलाउने गोपाल काम गर्दै गर्दा ३ वर्ष अघि दुर्घटनामा परेर घाइते भएका थिए । दुर्घटनामा पर्दा छातीमा मात्रै चोट लागेको बताउने उनी दुर्घटनामा परेको २/३ महिना पछि भने आँखा देख्न छोडेको बताउँछन् । ‘आँखामा समस्या देखिएपछि पहिले नेत्रालयमा गएका थियौ । डाक्टरले अपरेसन गर्नुपर्छ तर, आँखा खुल्ने नखुल्ने भन्न सकिँदैन भनेका थिए । पछि मामाले गेटा आँखा अस्पताल लगेर जानुभयो । त्यहाँ डाक्टरले डिमागको नसा सुकेको छ भनिदिए’ उनले भने ‘त्यसपछि घर लिएर आएपछि कसैले बातै गरेन ।’

navjiwan hospital

आँखा देख्दा काम गर्ने गरेको सम्झँदै उनले अझै पनि आँखा खुलिदिए काम गर्ने बताए । उनले आर्थिक अभावका कारण थप उपचार गर्न नपाएको बताउँदै पैसा भए थप उपचार गराउने धोको रहेको बताए । उनले भने ‘गेटाका डाक्टरले थप उपचार गर्न काठमाण्डौं जान भन्नु भएको हो । मेरोमा पैसा नहुँदा घरमा थुनिएको छु ।’ उनले आफ्ना सन्तान पनि नभएको र पहिल्यै नै श्रीमतीले पनि छोडेर गएको बताए ।

उनले आर्थिक अभावले उपचार गर्न नपाएको गुनासो स्थानीय सरकार समक्ष पनि पुगाएको बताए । उनले भने ‘वडाले आर्थिक अवस्था कमजोर छ । उपचार गराइदिनु भनेर चिठी लेखेर दिएको छ ।’

२०८० फागुन २२ गते वडाले गेटा आँखा अस्पताललाई सम्बोधन गरेर लेखिदिएको पत्रमा निःशुल्क औषधी उपचार गरिदिन सिफारिस गरिएको छ । तर, गेटामा उपचार नभएपछि अहिले पनि उनी त्यही पत्र थन्क्याएर सहयोगको याचना गरिरहेका छन् । उनले सहयोग गर्न इच्छुकले भतिजो नरेश नेपालीको मोबाइल नम्बर ९५८४२३३११ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

सहयोगका लागि क्युआर