धनगढी – कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सोमबार राति ११ बजेतिर छतबाट खसेर बझाङको तलकोट गाउँपालिका– १ का चदाराको मृत्यु भएको हो ।

घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले भने घटना शंकास्पद भएको बताएका छन् । उनीहरूले निष्पक्ष र वस्तुगत छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् । साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।
यसैबिच घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको जानकारी दिए ।



















