डडेल्धुरा– डडेल्धुरामा एक वृद्धले ७४ वर्षको उमेरमा नागरिकता पाएका छन । जिल्लाको अमरगढी नगरपालिका– ५ मा बस्दै आएका एनबी तामाङ्गले ७४ वर्षको उमेरमा नागरिकता पाएका हुन ।

उनलाई बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीले नागरिकता हस्तान्तरण गरे । तामाङ्गलाई बंशजको आधारमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला र संविधानसभा सदस्य ज्ञानु गैरेको विषेश पहलमा आवश्यक प्रक्रिया पूरा भएपछि तामाङ्गले नेपाली नागरिकता पाएका हुन् ।

उनी २००८ चैत ३० गते संखुवासभामा जन्मिएका थिए । तामाङ्ग विगत करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन् । २०३५ सालमा डडेल्धुरा आएका उनी विभिन्न कारणले हालसम्म नागरिकता बनाउनबाट वञ्चित थिए । उनको विवाह भएपनि श्रीमतीको निधन भइसकेको छ भने सन्तान छैनन् । बुढेसकालमा राज्यको सहारा आवश्यक महसुस भएपछि नागरिकता बनाउन अघि बढेको उनले बताए । उनले भने ‘आज बल्ल नेपाली भएको अनुभूति भयो । पहिले नागरिकता कति आवश्यक हुन्छ भन्ने थाहा नै भएन । अब वृद्धभत्ता पाइन्छ, बुढेसकालमा सरकारले हेर्छ भन्ने थाहा पाएपछि नागरिकता बनाएको हुँ ।’
१४ वर्षकै उमेरमा घर छाडेका तामाङले पूर्वी नेपालका विभिन्न ठाउँमा भौँतारिँदै सडक निर्माणलगायतका काममा मजदुरी गरेका थिए । जीवनको धेरै समय श्रम मजदुरीमै बिताएका उनी पछिल्ला ३५–४० वर्षदेखि भने डडेल्धुरामै बस्दै आएका छन् । नागरिकता प्राप्त भएसँगै तामाङ अब सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा तथा अन्य राज्यका सुविधामा पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
















