अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १० मा सञ्चालनमा ल्याएको बुक फ्रि फ्राईडे प्रभावकारी बन्दै गएको छ । वडाले २०८१ सालदेखी वडामा रहेको जानकी माध्यमिक विद्यालयमा नमुनाको रुपमा सूरु गरेको बुक फ्रि फ्राईडे पछिल्लो समय वडामा प्रभावकारी बन्दै गईरहेको हो ।

विद्यालयमा बुक फ्रि फ्राईडे सञ्चालनमा ल्याएपछि विद्यार्थीहरु सक्रिय रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन थालेको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले जानकारी दिए । उनले विद्यालयमा बुक फ्रि फ्राईडे सञ्चालनमा ल्याउदा विद्यार्थीहरुले शुक्रबार किताब बिनै विद्यालय आउने र विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्ने गरेको बताए ।

‘हामीले बुक फ्रि फ्राईडे सुरु गरेपछि अहिले विद्यार्थीहरुले आफ्ना अन्तरनिहित प्रतिभाहरु बाहिर ल्याउने अवसर पाएका छन’ उनले भने ‘जसका कारण पछिल्लो समय अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीको सहभागिता बढ्दै गईरहेको छ ।’ उनले सो कार्यक्रमले विद्यार्थीहरुमा मात्रै नभई अभिभावकहरुमा पनि सकारात्मक प्रभाव पारेको बताए । उनले नमुनाका रुपमा सुरुवात गरेको विद्यालयमा बुक फ्रि फ्राईडेको प्रभावकारीता राम्रो देखेपछि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर वडामा रहेको ४ वटा विद्यालयहरुमा बुक फ्रि फ्राईडे सञ्चालन गरेको बताए ।
उनले शुक्रबार पनि वडाका सबै विद्यालयहरुले सहिद दिवस मनाएको बताए । उनले नगरभित्रका अन्य अधिकांश सामुदायिक विद्यालयहरु बन्द रहदा वडामा रहेका विद्यालयहरुले भने विभिन्न कार्यक्रमहरु गर्दै सहिद दिवस मनाएको उनको भनाई छ । ‘आज परेको सहिद दिवस वडाका ४ वटै सामुदायिक विद्यालयहरुले विभिन्न कार्यक्रम गरी मनाए, जसमा विद्यार्थीहरुको मात्रै नभई अभिभावकहरुको पनि सक्रिय सहभागिता रहेको थियो’ उनले भने ‘विद्यार्थीहरु बिदाको दिन समेत विद्यालयमा उपस्थित हुनुलाई पनि बुक फ्रि फ्राईडेकै प्रभावका रुपमा लिन सकिन्छ ।’ बुक फ्रि फ्राईडे सुरु गरेदेखी विद्यार्थीहरु मात्रै नभई अभिभावकहरुले पनि अतिरिक्त क्रियाकलापको महत्वको बारेमा जानकारी पाएको वडाध्यक्ष शाहीले बताए ।
















