अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्थाको आर्थिक कारोबार साढे ८ करोड बढी नाघेको छ । आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म संस्थाले ८ करोड ६४ लाख ७८ हजार ४५० रुपैयाको आर्थिक कारोबार गरेको हो ।
शनिबार आयोजित संस्थाको ११औ वार्षिक साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखासमिति संयोजक पदम बहादुर साउँदले सो कुराको जानकारी दिएका हुन । साउँदका अनुसार संस्थाको सो आर्थिक वर्षमा १८ लाख ५३ हजार ९१७ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।


२०७१ साल पौष ९ गते २६ जना मिलेर सुरु गरिएको संस्थामा आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म १ हजार ३९० जना शेयरसदस्य पुगेको संस्थाका अध्यक्ष बालकृष्ण ओझाले जानकारी दिए । कार्यक्रमका सभापति समेत रहेका उनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था विकासको बाटोमा अघि बढीरहेको जानकारी दिएका थिए ।
संस्थाको लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका संस्थाका वरिष्ठ व्यवस्थापक कृष्णराज ओझाले स्थापना ताका ३ लाख ९० हजार शेयरपुँजी रहेको संस्थामा हाल १ करोड २ लाख ८ हजार ६०० रुपैया शेयरपुँजी रहेको जानकारी दिए । उनले संस्थाको जगेडा कोषमा ३१ लाख १२ हजार ५७१ रुपैया रहेको बताए ।
शनिबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको ११औ वार्षिक साधारण सभा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष ओझाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री विर बहादुर बलायर रहेका थिए । संस्थाकी कर्मचारी तुलसी शाहुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ व्यवस्थापक ओझाले गरेका थिए ।


















