खाेज्नुहाेस

सबैभन्दा धेरै एचआइभी संक्रमित गोदावरीमा

Image

धनगढी – सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै एचआइभी संक्रमित गोदावरीमा रहेको पाइएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार गोदावरमा २ सय ९१ एचआइभी संक्रमित रहेका छन । दोस्रोमा धनगढी उपमहानगरपालिकामा २ सय ४४ जना एचआइभी संक्रमित रहेका छन । प्रदेशमा एक सय देखि दुई सयसम्म एचआइभी संक्रमित रहेको स्थानीय तह आठ, ५१ देखि एक सय संक्रमित रहेको स्थानीय तहको संख्या १२ वटा रहेको छ भने २१ देखि ५१ एचआइभी संक्रमित रहेको स्थानीय तहको संख्या १६ रहेको छ । त्यस्तै ६ स्थानीय तहमा भने एचआइभी संक्रमितको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी संक्रमित संख्या कैलालीमा र सबैभन्दा कम दार्चुलामा रहेको छ । कैलालीमा सो आर्थिक वर्षमा ७७ जना नयाँ संक्रमित थप भई एचआईभी संक्रमितको सख्या एक हजार सात सय ४० पुगेको छ भने दार्चुलामा छ जना नयाँ संक्रमित थप भई ५० जना उपचाररत थिए । कैलालीपछि सबैभन्दा बढी एचआईभी संक्रमित अछाममा रहेको छ । गत वर्ष अछाममा छ जना नयाँ संक्रमित थप भई पाँच सय ७० जना उपचाररत रहेका थिए । तराईको दोस्रो जिल्ला कञ्चनपुरमा ३३ जना नयाँ संक्रमित पहिचान भएसंगै चार सय ५५ जना उपचाररत रहेको निर्देशनालयको तथ्यांकमा रहेको छ ।

attariya hospital
navjiwan hospital

डोटीमा आठ जना नयाँ संक्रमित पहिचान भएसंगै चार सय ९०, बाजुरामा तीन जना नयाँ संक्रमित फेला परेसंगै ७२, बझाङमा नौ जना नयाँ संक्रमितसंगै ९६, बैतडीमा नौ जना नयाँ संक्रमित पहिचान भएसंगै एक सय ३२ र डडेल्धुरामा १३ जना नयाँ फेला परेसंगै एक सय २५ जना उपचाररत थिए ।

सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्नेः शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु, शुून्य एचआईभी सम्बन्धित भेदभावलाई राष्ट्रिय एचआईभी कार्यक्रमका भविष्यका प्राथमिकतामा राखेको छ । तर, अहिलेसम्म एचआइभीकै कारण वर्षेनी प्रदेशमा मृत्यु हुने गरेको तथ्यांक रहेको छ । गत पाँच वर्षको तथ्यांक हेर्दा एचआइभीका कारण मृत्यु हुनेको दरमा कमी आउँदै गरेपनि अझै पनि शून्यमा पुगाउन सकस देखिन्छ ।

स्वास्थ्यकर्मीहरुले मृत्यु हुनुको कारण एचआइभीमात्र नभई बहुआयामिक रोगका कारण मृत्यु हुने गरेको जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले एचआइभी संक्रमितहरुमा निमोनियाँ, डाइवेटिज, दम लगायत अन्य नसर्ने रोगहरुको संक्रमणले मृत्यु हुने गरेको बताए । उनले समयमै संक्रमित उपचारको दायरामा आउने र नियमित औषधि सेवन गरेमा मृत्युको जोखिमबाट बचाउन सकिने बताए । उनले भने ‘कुनै समय प्राणघात रोगका रुपमा हेरिने गरेको थियो । यसको औषधि निर्माण भएपछि अहिले विरामीहरुको व्यवस्थापन गर्न सकिएको छ ।’