खाेज्नुहाेस

आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

Image

आज आठौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ मनाइँदै छ। ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको औपचारिक घोषणा गरिएको दिनको सम्झनामा आज यो दिवस मनाउन लागिएको हो।

नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यले स्थापित कोषको नेतृत्वमा सामाजिक सुरक्षा योजनाहरू कार्यान्वयनमा छन्। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोह आयोजना गरिँदै छ।

attariya hospital
navjiwan hospital

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार सबै श्रमिकलाई यस योजनामा आबद्ध गराई आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा संवैधानिक व्यवस्थालाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रमहरू लक्षित छन्।

बुधबारसम्म साढे २६ लाख (२६ लाख ४७ हजार ४७१) नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका कोषले जनाएको छ। जसमा औपचारिक क्षेत्र, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरू समेटिएका छन्।

कोषमा हालसम्म रु. ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ। २ लाख ५३ हजार १ सय ४३ श्रमिकले विभिन्न सुविधाबापत रु. १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिइसकेका छन्। कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। योगदानकर्ताले यी योजनाका अतिरिक्त बचतको ब्याज, मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायतका सहुलियत प्राप्त गर्दै आइरहेको कार्यकारी निर्देशक अधिकारीले बताए।