चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले आगामी २ वर्षभित्र फुटबलबाट सन्यास लिने बताएका हुन ।

क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले सन २०२६ को विश्वकप आफ्ना लागी अन्तीम स्पर्धा हुने निश्चित भएको बताए । ‘म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट बिदा लिन उपयुक्त हुनेछ’ उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भनेका छन ।

सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै संन्यास लिने बताएका थिए । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन ।
पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ । रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल भएका थिए ।
















