खाेज्नुहाेस

डडेल्धुरामा सामुदायिक वनका अध्यक्ष विरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

Image

डडेल्धुरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार मडैले समितिको रकम हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले समूहको मिति २०७८ मंसिर १० गतेको माइन्युटको नक्कली प्रतिलिपि तयार गरी सचिव र कोषाध्यक्षको जानकारीबिना चेकमा किर्ते हस्ताक्षर गरेका थिए।

attariya hospital

सोही चेक प्रयोग गरी उनले मिति २०७८ मंसिर १६ गतेदेखि २०७९ वैशाख २५ गतेसम्म विभिन्न मितिमा २० लाख १५ हजार रकम आफ्नै नाममा झिकेका थिए।

navjiwan hospital

विज्ञप्तिमा भनिएको छ, समितिले उक्त रकम हिनामिना भएको थाहा पाएपछि मडैले २ लाख मात्र समितिको खातामा फिर्ता जम्मा गरेका थिए भने बाँकी १८ लाख १५ हजार रकम दुरुपयोग गरेको पुष्टि भएको छ।

मडैले रकम समितिको डडेल्धुरा शाखाबाट नभई अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगरका विभिन्न शाखाबाट निकालेको प्रमाण फेला परेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन, फरेन्सिक परीक्षण र बैंकका अभिलेखहरूले मडैले किर्ते दस्तावेजमार्फत रकम निकालेको पुष्टि भएको अख्तियारको भनाइ छ।

आयोगका अनुसार मडैको यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा पर्ने देखिएकाले सोही ऐनको व्यवस्था अनुसार १८ लाख १५ हजार बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।