खाेज्नुहाेस

उग्रतारा मेला कात्तिक १९ गतेदेखि सुरु हुने

Image

डडेलधुरा – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ ।

navjiwan hospital

डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेकोसमेत उनको भनाइ छ ।

attariya hospital

भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्क, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अमरगढी नगरपालिका–८ का स्थानीय नरबहादुर साँकीले बताए ।

किम्वदन्तीअनुसार दुई हजार ५०० वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आइएको छ । वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास छ ।