अत्तरिया – तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार यस पटक ६ दिन परेको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले १ दिन बढेर ६ दिन भएको हो । ६ दिन तिहार हुँदा शनिवार अपराह्न १ः२३ बजेपछि त्रयोदशी सुरु भएको थियो । आइतबार दिउँसो १ः५६ सम्म त्रयोदशी रहने भएकाले दीपावली पर्वको काग पूजा आज (आइतबार) गरिँदै छ । दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा भने सोमबार साँझ नै गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोमबार बिहान भने कुकुर तिहार परेको छ ।
औँसी तिथि मंगलबार दिउँसो ४ः२९ बजेसम्म परेकाले यस दिन तिहारका कुनै पनि पर्व परेका छैनन् । गाई गोरु एवं गोवद्र्धन पूजा बुधवार परेको छ भने बिहीबार भाइटिका लगाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको छ ।


शनिवार अपराह्न देखि सुरु भएको तिहारको पहिलो दिन धनतेरस मनाउनेहरूले बजारमा किनमेल गर्ने परम्परा भएकाले चहलपहल बढेको छ । तिहारमा विशेष गरेर घर सजाउने सामाग्री, पूजाका सामाग्री किन्नेको बजारमा भिड लाग्ने गरेको छ ।
यसैलाई मध्यनजर गरेर तिहारका लागि अत्तरिया बजारमा तिहारका सामान बिक्री गर्ने व्यवसायीको भिड लागेको छ । सटरमा व्यवसाय गरिरहेका व्यवसायी समेत तिहारका बेला सडकमै स्टल राखेर तिहारका सामान बिक्री गर्दा अत्तरिया बजारका सर्भिस लेन सडक, फुटपाथ सबै व्यवसायीका पसलले भरिएका छन् ।

यसरी बजारका सडक किनारामा सञ्चालन भएका यी पसलहरूमा रातीको समयमा बाल्ने झिलिमिली बत्ती, सजावटका कृत्रिम फुल माला, माटोको दिया, भगवानका फोटो, रङ्ग लगायत अन्य सजावटका सामान राखिएका छन् । सडक किनारामा राखिएका यस्ता पसलमा सामान भने अधिकांश भारतबाट ल्याएका छन् भने व्यवसायी पनि अधिकांश भारतीय छन् ।

सडकमा तिहारका लागि फूल, सजावटका सामान, पूजाका सामान बिक्री गर्ने मात्रै नभएर खाद्यान्नका सामान मिठाइ बिक्री गर्नेहरूले पनि सडकमै स्टल राखेर बिक्री गर्ने गरेका छन् । सडक र फुटपाथमा व्यवसायीको कब्जा हुँदा किनमेल गर्नेहरूलाई नै ओहोरदोहोर गर्न समेत समस्या हुन थालेको छ ।
तिहारका लागि अत्तरियाको महेन्द्रनगर रोडमा बर्सेनि तिहारका लागि फुटपाथ र सडकमा व्यापार गरिँदै आएको छ । तर, यसरी व्यापार गर्नको लागि निश्चित स्थान भने नछुट्याउदा बजार अस्तव्यस्त हुने गरेको छ । तिहारका सामान किन्दै गरेको अवस्थामा अत्तरिया बजारमा भेटिएका किसन नाथले बजारमा तिहारका पसलले अस्तव्यस्त बनेको बताए । उनले तिहारमा सडकमा व्यापार गरिँदै आएको भए पनि व्यवस्थित नहुँदा समस्या भएको बताए । ‘जहाँ मन लाग्या त्यहाँ सामान बिक्री गर्नेहरूको तँछाडमछाड छ’ उनले भने ‘हिँडडुल गर्ने ठाउँ पनि छैन । सामान कसरी किन्ने ।’
यस वर्ष तिहारमा नगरपालिकाबाट बजार अनुगमन समेत नगरिँदा अखाद्य बस्तुको बिक्री हुने जोखिम पनि बढेको छ । बर्सेनि दसैँ तिहारको समयमा बजार अनुगमन गरिँदै आएको भए पनि यस वर्ष भने बजार अनुगमन गर्न पनि बेवास्ता गरिएको छ ।