डडेलधुरा – डडेलधुराको अजयमेरु गाउँपालिका–५ देवलगाउँमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार २९ वर्षीय महेन्द्र सार्की असोज ८ गते राति आफ्नै घरको कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार सार्की आफै सुत्ने कोठामा मृत फेला परेको खबर प्राप्त भएको थियो ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि महेन्द्रको शव कोठाको खाट नजिकै रहेको र माथि प्लास्टिकको डोरी भेटिएको थियो । घटनास्थलमा प्रकृतिको आधारमा शंकास्पद अवस्था देखिएको प्रहरीको भनाइ छ ।

सूचना अधिकारी डम्बर बिष्टका अनुसार मृतकको घरमा उनकी श्रीमती कमला सार्की, पाँच वर्षीय छोरा र ढाई वर्षीया छोरी बस्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक दम्पतीबीच दैनिक झगडा हुने गरेको र सोही कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । दुई महिनादेखि मृतककी पत्नी माइती घरमै बस्दै आएकी थिइन् भने घटनाको दुई दिनअघिमात्रै घर फर्केकी थिइन् ।
प्रहरीले मृतककी श्रीमती कमलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै मृतकका दाजु नाता पर्ने जोगराम सार्कीलाई पनि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विष्टले बताए ।


















