सुखड– कैलालीको तीन पालिकाका ६८ जना अपांगता भएका विद्यार्थीहरुलाई सहयोग सामग्री प्रदान गरिएको छ । जिल्लाका लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा रहेका ६८ जना अपांगता भएका विद्यार्थीहरुलाई सहयोग सामाग्री प्रदान गरिएको हो ।

गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको बताईएको छ । अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी १६ प्रकारका ९२ वटा सामग्री वितरण गरिएको गुडनेवर्स इन्टरनेशनल नेपालका संयोजक अरुण चौधरीले बताए ।

लम्कीचुहाका १८ जनालाई २४ प्रकारका, जानकीका २६ जनालाई ३९ प्रकारका र टीकापुर नगरपालिकाका २४ जनालाई २९ प्रकारका विभिन्न सहयोग सामग्री वितरण गरिएको उनले बताए । कूल १३ लाख ५१ हजार ८४० बराबरको सहयोगी संस्थाको बजेटमा ह्विलचियर, कुर्सी, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औलालगायतका १६ प्रकारका सहयोग सामग्री वितरण गरिएको चौधरीले बताए । सहयोग सामग्री पाएपछि अपाङ्गता भएका बालबालिका तथा उनीहरूका अभिभावक समेत खुसी भएका थिए ।


















