म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा


म उहीँ कालापानी।
कहिले सम्म ?

आखिर कहिले सम्म ?
सत्ता प्राप्तिको आकर्षक नारा बनी उठ्ने
समस्याको विषय बनी
आशाको किरण त्यसै निभ्ने।
म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी।
उस्तै शासक उस्तै शासित उस्तै जनता तिमी
धर्म-संस्कृति, राजनीति बने विकासका बाधक
अनिदा मात्र जनता हुँदा, मस्त निद्रामा शासक।

दोष जति चीन र भारतलाई
कसको रहेछ कमी…?
म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी
ए ! राजधानी नलाग जाई
नछाप चुच्चे नक्सा
देखावटको राष्ट्रवाद
उसकै कठपुतली सत्ता
काेर्याै धर्सा, छाप्यौ नक्सा, ल्यायौ फिर्ता भूमि…?
म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी !
लेखक: जनक सिंह महरा “जसिम”
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा महेन्द्रनगर कञ्चनपुर।