जीवन कुनै सहज मेलोडी होइन,
यो त काँडदार मार्गको गहिरो व्याख्या हो।

जहाँ प्रत्येक कदममा परीक्षा छ,
र प्रत्येक परीक्षामा नयाँ सत्यको you खोज।
सङ्घर्ष भनेको पीडा मात्र होइन,
यो आत्म बोधतिरको दरिलो ढोका हो।
अन्धकारले घेरिँदा पनि
अन्तर्मनको उज्यालो फुट्न सक्ने साहस हो।
समयको नदी सधैँ एकै धारले बग्दैन,
कहिले बाढी, कहिले सुख्खा भएर आउँछ।

तर सङ्घर्षको कठिन यात्राले
मानवलाई आफ्नो अस्तित्व बोध गराउँछ।
यात्रा कठिन छ – हो,
तर कठिनतामै जीवनको गहिरो स्वाद छ।
दुःखलाई स्वीकार गर्ने हृदयले मात्र
आनन्दको वास्तविक रूप चाख्न सक्छ।
सङ्घर्ष भनेको हार र जितको कथा होइन,
यो त आत्माको निरन्तर आरोह-अवरोह हो,
जहाँ प्रत्येक असफलता पनि
सफलताको शिलालेख बनिरहन्छ।
कवि कोपिला धामी दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।



















